Nuwakot buddichal chess club

धेरैले संस्कार नै धर्म हो भन्ने गर्दछ । वास्तवमा धर्म र संस्कार अलग कुरा हो । बिभिन्न भाषामा सुन्तलालाई अलग अलग नामले चिने पनि उही सुन्तला भए जस्तै हिन्दू, बौध्द, मुस्लिम, क्रिश्चियन आदी जुन नाममा मानिए पनि धर्मको सार एउटै हो । हरेक धर्मवलम्विको संस्कार भने अलग अलग हुन्छ । रितिरिवाज र संस्कार अन्धविश्वास पनि हुन सक्छ । विविध समुदायमा बिभिन्न कारणले बढेको वा थपेको चलन पनि संस्कार बनेको हुन सक्छ ।
सेवा गर्नु, भेदभाव नगर्नु, हिंसा नगर्नु, झुटो नबोल्नु, सबैको कल्याण गर्नु र परोपकार गर्नु आदी सबै धर्मको सार हो । जुन नामको धर्म माने पनि असल आचरण ब्यबहारमा उतार्दै ग्रहण गर्नु धर्म गर्नु हो । विभेद लगायतका दुराचार ब्यबहारमा उतार्नु धर्म होइन । लैंगिक, धार्मिक, जातिय, वर्गिय र छेत्रीय भेदभाव गर्नु तथा प्राणी हिंसा गर्नु पाप हो । गलत संस्कार धर्म होइन । धार्मिक कर्मा कान्ड धार्मिक सार होइन । त्यो धार्मिक रितिरिवाज मात्रै हो ।
कुनै समुदायले हाम्रो धर्म अनुसार हामी पुरुष महिला भन्दा अब्बल हो, हामी अरु भन्दा ठुलो जाती हो, हामी शासन गर्नकै लागि जन्मिएको हो भन्छ भने त्यो धर्म होइन । त्यो अधर्म हो । निचता हो । त्यस्तो बोली र व्यबहारले सबैको कल्याण गर्दैन । सदभाव र सहिश्नुता बढाउदैन र बढ्दैन । केवल आफ्नो स्वार्थ मात्रै हेर्ने पशु समान हुन्छ । बहुजन वा सबै वर्ग, जाती, धर्म, लिंग र क्षेत्रको हित बिपरित बोल्ने र कुसंस्कारको पक्षमा उभिनेले सोच्न जरुरी छ ।
एक पटक एउटा बिरालो पाल्ने घरमा सरद्दा गर्ने बेलामा बिरालो घरि घरि दौडेर पूजाको सबै सामानहरु घोप्टाउदै पोखाउन थालेकोले बिरालोलाई नजिकै रहेको थाममा बाँधेर सरद्दा गरेछ । हरेक साल बुबाले बाजेको सरद्दा गर्दा सानै देखी बिरालो बाँधिएको देखेका छोरा नातिहरुले बिरालो बाँध्नै पर्ने आफ्नो समुदायको संस्कार मानेर आफ्नो पालामा पिताको सरद्दा गर्ने बेलामा घरमा नभए पछी नौ गाउँ घुमेर बिरालो खोजी ल्याइ बाँधेर सरद्दा गरेछ । संस्कार यसरी गलत बुझाई र परिस्थितीले पनि बन्न पुग्छन ।
तर धर्मको सार त्यसरी बन्दैन । यद्यपी धर्मको आधारमा गलत संस्कार र विकृतिहरु बढेको हुन्छ । त्यस्तो कु-संस्कार र कु-रितिहरु धार्मिक आडमा बढ्दा धर्म नै बदनाम हुँदै जान्छ । नेपाली समाजमा रहेको छुवाछुत, लैंगिक विभेद, भाषिक, वर्गिय, छेत्रीय र धार्मिक भेदभाव, शोषन र दमनले पनि सदभाव र सहिश्नुता बिथोल्दै छ । न्यायोचित अधिकार सहितको समानता हुनुपर्छ भन्नेलाई सम्प्रदायी आरोप लगाउनेहरु वास्तविक सम्प्रदयिक बिथोल्ने तत्वहरु हो ।