Kites fm 91.8 mhz tikapur, kailali

रौतहट, साउन १९– सडक डिभिजन कार्यालय हेटौंडाको लापरवाहीका कारण रौतहटमा हजारौं बिघा उखु र धानबाली डुबानमा परेको छ । स्थानिय कटहरिया गाविसस्थित लाल बकैया नदीमा निर्मित पुलछेउमा बनाइएको बाँधको कारण निकास बन्द हुँदा वर्षाको पानी जमेर समस्या भएको हो । शनिबार रातीदेखी पटक पटक परेको पानी र नहरको पानी निकास नभएका कारण कटहरिया, बिर्ति प्रस्टोका, हँथियाही, भसेढवा लगायत गाबिसस्थित किसानहरुले लगाएको हजारौँ बिघा उखु र धानबाली डुबानमा परेको स्थानिय समाजसेवी राकेश गिरीले बताएका छन् । कटहरियास्थित लालबकैया नदीमा निर्मित पुलको पूर्वपट्टी पछिल्लो दुई हप्तादेखि जलमग्न बनेको छ । तीनदिन अघिसम्म थाम्न सक्ने अवस्थामा रहेपनी वर्षाको पानीले थप दबाब दिँदा हजारौं बिघामा लगाइएको बाली क्षती हुने अवस्थामा पुगेको किसानहरुले गुनासो गरेका छन् । पानीको निकास थप केहिदिनसम्म नभएमा डुबानमा परेका हजारौं बिघा उखु र धानबाली नष्ट हुने प्रवल सम्भावना रहेको कटहरियाका स्थानिय किसान बिद्यासागर यादवले बताएका छन् । उखु र धानबाली नष्ट भए किसाननलाई करोडौं बराबरको क्षती हुने स्थानियहरुले बताएका छन् । पानीको निकास गर्न पुलका ठेकदार पप्पु कन्ट्रक्सनका सञ्चालक हरीनारायण रौनियारलाइ आग्रह गर्दा सडक डिभिजनले मौखिक निर्देशन गरेलगत्तै निकासको काम सञ्चालन गर्ने बताए । पुलछेउको बाँधमा मात्र १६ वटा हयुमपाइप लगाएर पानीको निकास हुने तर त्यसका लागि डिभिजन कार्यालयले निर्देशन दिनुपर्ने रौनियारले बताएका छन् ।
मर्मतका लागी सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर सुमन योगेसलाई पटक–पटक आग्रह गर्दा रौनियारलाई तत्कालै पानी निकासको काम सञ्चालन गराउने बताएका थिए । तर एकसाता बित्नलाग्दासम्म पानीको निकासको काम गर्न योगेसले लिखित अथवा मौखिक रुपमा भन्दै नभनेको रौनियारले बताएका छन् । सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख रबिन्द्रलाल दाशको मोबाइल प्रायः बन्द रहने गरेको किसानहरुले गुनासो गरेका छन् । यसै बिच डुबानको समस्या समाधान गरिदिनको लागी सडक डिभिजन र पप्पु कन्स्ट्रक्सनमाथि दबाब दिन नारायणी प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनाललाइ सोमबार मोबाइल फोन मार्फत आग्रह गरेका छन् । स्थानियको आग्रह अनुसार निकासको लागी अविलम्ब पहल गर्ने एसएसपी खनालले प्रतिवद्धता व्यक्त गरेका छन्